Monday 11-29, 2021, 12:29 pm
Bittabazar

विद्युतको नयाँ महशुल दर निर्धारण, अब कति पर्छ मासिक महशुल ?

२०७८ कार्तिक १०

काठमाडौँ । विद्युत् नियमन आयोगले विद्युतको नयाँ महशुल दर निर्धारण गरेको छ । आउँदो मंसिरबाट लागुहुने गरि नयाँ महशुल दरमा २० युनिटसम्म खपत गर्ने उपभोक्ताले मासिक ३० रुपियाँ, सिंगल फेजबाट विद्युत लिएर १५१ देखि २५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा ५० पैसा घटाई प्रति युनिट ९ रुपियाँ ५० पैसा कायम गरिएको छ भने चार सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपियाँ घटाएर ११ रुपियाँ कायम गरिएको छ ।

थ्री फेज मिटर प्रयोग गर्ने ठूला उपभोक्ताका लागि न्यूनतम शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षा र हिउँदमा फरक–फरक निर्धारण गरिएको छ । मासिक चार सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई प्रति युनिट ११ रुपियाँ ५० पैसा इनर्जी शुल्क लगाइँदै आएकोमा अब वर्षायाममा १० रुपियाँ ५० पैसा र हिउँदमा ११ रुपियाँ ५० पैसा लगाइने छ ।

त्यस्तै चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रति युनिट १२ रुपियाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपियाँ ५० पैसा र हिउँदमा ११ रुपियाँ ५० पैसा तोकिएको छ ।