Monday 12-06, 2021, 10:51 pm
Bittabazar

मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न रोक

२०७८ आश्विन १६

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण कायमै रहेको र चाडवाडको बेला हुनसक्ने सम्भावित जोखिबाट बच्नको  लागी भन्दै उपत्यकामा मास्क नलगाइ हिड्न एवंम सार्वजनिक सवारी साधनमा यात्रा गर्न रोक लगाइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रवार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।

उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो । सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।

बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।