काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ रेकर्ड बनेको छ । आज नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले बढ्दा २९६० दशमलव १४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय १८ वटा कम्पनीको ३ करोड ५७ लाख ४ सय २४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ९५ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । यो हालसम्मकै उच्च विन्दु हो ।
आज कारोबार भएका समूहमध्ये तीन वटा समूह बाहेक अन्य समूह बढेका छन् भने अधिकांश फाइनान्स र विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
आज १६ अर्ब ९५ करोड रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल पुनर्बीमाको कारोबार भएको छ । कम्पनीको १ अर्ब ६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको ४७ करोड ८१ लाख रुपैयाँको शेयर करोबार भएको छ । यूनाइटेड मोदी हाइड्रो पावर कम्पनीको ३७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । लुम्बिनी विकास बैंकको ३५ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।