Tuesday 11-30, 2021, 5:34 pm
Bittabazar

खाद्य वस्तुहरु २० प्रतिशत छुट, ग्यास तथा खाद्य बस्तुको मुल्य कति तोकियो ?

२०७८ जेष्ठ २०

काठमाण्डौ । नेपाल सरकारले निषेधाज्ञा जारी गरेको अवधीभर कायम रहने गरि खाद्य वस्तुहरु २० प्रतिशत छुटमा बिक्रि हुने भएको छ । अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनबीच भएको बैठकले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा उल्लेखित छुट तथा सुविधा कार्यान्वयनमा ल्याएको हो।

बैठकमा छुट सुविधा प्रदान गरिने ग्राहकलाई कोटा निर्धारण गर्दा ५ जनाको परिवारलाई एक इकाई मानी सहुलियतका सामग्री पहिलो पटक एक महिनाका लागि खाद्य तथा व्यापार कम्पनीबाट ३० केजी चामल र २ केजी सिमीको दाल सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ।

यस्तै २ केजी पिठो, २ केजी चिनी, २ केजी नुन, १ लिटर भटमासको खाने तेल र खाना पकाउने ग्यास १ सिलिण्डर साल्ट ट्रेडिङबाट सहुलियत दरमा उपलब्ध गराउने निर्णय भएको छ।

जसअनुसार पिठो प्रतिकेजी ४४ रुपैया, चिनी प्रतिकेजी ६३ रुपैयाँ ,नुन प्रतिप्याकेट एक केजीको १६ रुपैया २० पैसा, भटमासको तेल प्रतिलिटर १८८ रुपैया र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर ११२० रुपैयाँ पर्नेछ।

उक्त छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बर सहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्ने उल्लेख गरिको छ ।

काठमाडौं उपत्यकाको हकमा थापाथली, रामशाहपथ स्थित रहेका बिक्री कक्ष ललितपूर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट बिक्री वितरणको व्यवस्था मिलाइएको छ भने अन्य जिल्लाहरुको हकमा कम्पनीको कार्यालय तथा बिक्रि कक्षहरु रहेको स्थानबाट बिक्री हुने व्यवस्था कम्पनीले मिलाएको छ ।