Monday 11-29, 2021, 7:58 pm
Bittabazar

कहिलेदेखि खुल्दै छ अन्तर्राष्ट्रिय उडान ?

२०७८ जेष्ठ १३

काठमाडौं । कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाइएको रोक कायमै हुने भएको छ ।

नेपालमा अझैपनि संक्रमण दर नघटेको र नयाँ प्रजातीको भाइरस समेत देखापरेको अवस्थालाई मध्यनजर गर्दै तत्काल अन्तराष्ट्रिय उडान नखुल्ने भएको हो ।
अझैपनि जोखिम न्युनीकरणका उपाय अपनाउन नसकिएको र जोखिम न्यूनीकरण हुने वातावरण निर्माण भएमात्रै उडान सुचारु गरिने तत्काल खोलिहाल्ने सरकारको तयारी नरहेको पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

सरकारले अहिले जेठ १७ गते मध्यरातसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । आन्तरिक उडानमा लगाइएको रोक चाहिँ अर्को सूचना जारी नभएसम्म कायमै रहने मन्त्रालयले जनाएको छ ।

अहिले चार्टर्ड, उद्धार, कार्गो र कूटनीतिक उडान चाहिँ नियमित भैरहेका छन् । यस्ता विशेष खालका उडानलाई चाहिँ निरन्तरता दिइने र चीन र कतारसँग सातामा एक उडान नियमित हुने गरि संचालन गर्न प्रक्रिया शुरू गर्ने मन्त्री ढकालले बताएका छन् ।