Sunday 11-28, 2021, 7:49 am
Bittabazar

कोरोना संक्रमित भएको कति समयपछि आँखा बिगार्ने घातक “कालो ढुसी” सङ्क्रमणको बढी जोखिम हुन्छ ?

२०७८ जेष्ठ ८

काठमाण्डौ । कोभिड उपचारको छ हप्ता भित्र बिरामीहरूलाई ‘ब्ल्याक फङ्गस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्टिच्युट (एम्स)का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । एम्समा न्यूरोसर्जरीका प्राध्यापक डाक्टर पी शरत्चन्द्रले भने, “‘फङ्गल’ संक्रमण कुनै नयाँ समस्या होइन । सङ्क्रमणका धेरै कारणहरू हुन सक्छन् ।

कोभिड उपचार को छ हप्ता भित्रमा यदि मानिसहरूलाई यी कुनै पनि कारण कालो फङ्गसको उच्च जोखिम रहने गर्छ, डाक्टर शरत्चन्द्रले बताए । उनले सचेतनाका लागि भने, “सिलिण्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फङ्गसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्छ ।”

भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमणका घटनाहरू जानकारीमा आइरहेका छन् । राजस्थान, गुजरात, पञ्जाब, हरियाणा, कर्नाटक, ओडिसा, तेलङ्गना र तमिलनाडुजस्ता राज्यहरूले महामारी रोग ऐनअन्तर्गत यसलाई ‘अधिसूचित’ रोग घोषणा गरिसकेका छन र यसैले प्रत्येक म्युकोर्माइकोसिस’को अवस्था राज्य सरकारलाई रिपोर्ट गर्नु अनिवार्य बनाएको छ ।

कोभिड महामारीको अतिरिक्त कालो ढुसीको सङ्क्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन् ।

म्युकोर्माइकोसिस के हो ?

यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटविरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्युकोर भनिने ढुसीसँगको संसर्गबाट सर्ने गर्दछ।

मुम्बईका एक नेत्र शल्यचिकित्सक डा अक्षय नायर भन्छन्, “म्युकोरु जताततै हुन्छ। माटो एवं हावामा र स्वस्थ मानिसको नाक र खकारमा पनि यो हुन्छ।”

यसले साइनस, मस्तिष्क र फोक्सोमा असर गर्छ र यो प्राणघातक पनि हुनसक्छः विशेषगरी डाइबेटिक अथवा शरीरको रोगप्रतिरोधी क्षमतामा गम्भीर कमजोरी देखिएका क्यान्सर वा एचआईभी एड्सका बिरामीहरूका लागि।

चिकित्सकहरूको विश्वासमा म्युकोर्माइकोसिस, जसको समग्र मृत्युकारक दर ५० प्रतिशत जति हुन्छ, स्टेरोइड ‌‌औषधिको प्रयोगका कारण देखापर्न थालेको हुनसक्छ।

कोभिड-१९ का गम्भीर अवस्थाका बिरामीलाई ज्यान जोगाउने औषधिका रूपमा हाल स्टेरोइडको पनि प्रयोग भइरहेको छ। स्टेरोइडहरूले कोभिड-१९ का बिरामीहरूको फोक्सोमा देखिने इन्फ्लामेशन अर्थात् सुजनलाई कम गर्छन् र तिनले शरीरको रोगप्रतिरोधी प्रणाली कोरोनाभाइरससँग जुध्न अति सक्रिय अवस्थामा पुग्दा त्यसबाट पुग्नसक्ने केही क्षतिलाई रोक्न सघाउने देखिएको छ।

तर तिनले रोगप्रतिरोधी क्षमतालाई पनि कमजोर गराउँछन् र रगतमा चिनीको मात्रा, ब्लड सुगर लेभल, बढाउँछन्। यस्तो डाइबिटिज भएका वा डाइबिटिज नभएका दुवैथरी कोभिड-१९ का बिरामीहरूमा हुन्छ। यसरी रोगप्रतिरोधी क्षमतामा देखिने कमी नै म्युकोर्माइकोसिसको कारक हुनसक्ने ठानिएको छ । एजेन्सीकाे सहयाेगमा