Saturday 11-27, 2021, 2:04 am
Bittabazar

निर्वाचनका लागि बजेट दिन सरकारकाे तयारी, कति लाग्ला खर्च ?

२०७८ जेष्ठ ८

काठमाडौं । सरकारले प्रतिनिधिसभा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोगले काम थालनी गरेको छ । पहिलो चरणको निर्वाचन कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गते तोकिएको छ ।

निर्वाचनको तयारीका सिलसिलामा प्रधानमन्त्री ओलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित अन्य आयुक्तसँग शनिवार भेटघाट गरेका छन् । तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउनका लागि प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त थपलियालाई निर्देशन दिएका छन् ।

निर्वाचनको वातावरण बनाउन र अन्तर्राष्ट्रिय समुदायमा स्वीकारयोग्य बनाउन समेत छलफल भएको छ । कोभिडको महामारी भएको बेला स्वाभाविक रूपले अलि बढी खर्च पनि हुनसक्ने र त्यसका लागि छुट्टै रणनीति बनाएर जानुपर्ने देखिएको प्रमुख आयुक्त थपलियाले बताए ।

निर्वाचन आयोग निर्वाचन गराउनका लागि सधैं तयारी अवस्थामा नै रहने हुनाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन आयोग सक्षम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

निर्वाचन प्रयोजनका लागि सामग्रीहरू खरिद, मतदाता नामावली अद्यावधिक गर्नुपर्ने, मतदान केन्द्र, मतदानस्थल लगायतको काम टुंग्याउनुपर्ने हुन्छ । निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने, निर्वाचन चिह्न दिने काम, कर्मचारी व्यवस्थापनका काम, मतदाता शिक्षा सम्बन्धी सामग्री तयार गरेर वितरण गर्ने लगायतका प्रमुख कामहरू निर्वाचन आयोगले गर्नुपर्ने हुन्छ ।

यसअघि प्रतिनिधिसभा विघटन गर्दा चुनावको तयारीका लागि ८–९ अर्ब रुपैयाँ खर्च हुनसक्ने अनुमान गरेर तयारी थालिएको थियो ।

तर अहिले कोभिडका कारण स्वाभाविक रूपमा त्योभन्दा बढी पनि खर्च हुने उनले बताए । प्रवक्ता श्रेष्ठले भने, ‘अहिले ९ अर्बभन्दा बढी खर्च हुन सक्छ ।’

उनका अनुसार यसअघि सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको थियो ।