Monday 11-29, 2021, 1:45 am
Bittabazar

शेयर बजारबारे जथाभावी अभिव्यक्ति नदिन बोर्डको चेतावनी, यस्तो सम्म हुन्छ कारबाही !

२०७८ जेष्ठ ६

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले शेयर खरिद वा बिक्री गर्न उत्साहित गराउने उद्देश्यले सूचना सम्प्रेषण नगर्न तथा नगराउन निर्देशन दिएको छ । केहि विश्लेषक वा सक्रिय लगानीकर्ता भएको भन्दै कुनै कम्पनीको शेयर मूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै बोर्डले यस्तो कार्य तत्कालै रोक्न आग्रह गरेको हो ।

बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचिकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरिद गर्न वा बिक्री गर्न तथा विभिन्न शेयरहरु खरिद वा बिक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएको छ, त्यस्तो कार्य नगर्न नगराउन सबै सम्वद्ध पक्षहरुलाई एक सूचनामार्फत् सूचित गरिएको छ ।’

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यवस्था छ । त्यस्तै, अन्य देशमा धितोपत्र बजार नियमन निकायबाट अनुमतिपत्र प्राप्त गरेका व्यक्ति वा संघसंस्थाले विस्तृत अध्ययनको आधारमा मात्र दोस्रो बजार सूचकांक तथा सूचिकृत संगठित संस्थाको शेयर मूल्यको विषयमा सार्वजनिक अभिव्यक्ति दिन पाउने व्यवस्था छ ।

धितोपत्रसम्बन्धि ऐनमा बजार प्रभावित गराउने अभिव्यक्ति तथा समाचारलाई कसुर मानिएको छ । यस्तो काम गरे ५० हजारदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद हुने छ ।