Tuesday 12-07, 2021, 2:20 am
Bittabazar

भीमेश्वर मन्दिरको शीलामा आयो फेरि पसिना, यस्तो छ धार्मिक मान्यता, पुजारी भन्छन् ‘अनिष्ट हुन्छ’

२०७८ बैशाख २५

काठमाण्डौ । दोलखाको ऐतिहासिक भिमसेन मन्दिरका शिला देवता भीमसेनलाई १९ औं पटक पसिना आएको छ । एक शिला तीन अवतारको रुपमा पुजिने दोलखाको भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०७७ मंसिर ९ गते १८ औं पटक र २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो। २०७७ मंसिर पछि पाँच महिना नपुग्दै एकै वर्षमा दुई पटक पसिना आएकोले देशमा अनिष्ट हुने गुठियारहरुले अनुमान लगाएका छन्। आज दिउँसो १२ बजेर १५ मिनेट जाँदा भिमसेनको शिलामा पसिना आएको पुजारी कोशीनारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यो १९ औं पटक पसिना आएको हो । भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले जानकारी दिए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ। भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पूजा गरेका छन्। भीमेश्वरलाई पसिना आउँदा घण्टा, नगरा, झ्याली, बाजा बजाएर क्षमा पुजा गर्ने चलन भएपनि निषेधाज्ञाको कारण नबजाइएको भीमेश्वर मन्दिर तथा पुजा व्यवस्थापन समितिले जनाएको छ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एकमहिना अघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि र १९९० सालको भुकम्प आउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको थियो। भीमेश्वर मन्दिरको शिलामा पसिना आएपछि राष्ट्रपति कार्यालयबाट कालो बोकाको बलि सहित क्षमा पूजा गर्ने प्रचलन छ । पुजाको प्रसाद राष्ट्रपति कार्यालय पुर्याईने गरेको छ ।