Tuesday 11-30, 2021, 5:46 pm
Bittabazar

कोरोना बढेसँगै यती एयरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

२०७८ बैशाख ६

काठमाडौं । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एयरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ ।

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान सुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो ।

यात्रुलाई सुरक्षित र सङ्क्रमणरहित यात्रा गराउने उद्देश्यले बन्दाबन्दीपछि स्वास्थ्य निर्देशिका बनाएको यतीले उक्त स्वास्थ्य निर्देशिकालाई कडाइका साथ पालना गराउँदै आएको एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । कोभिड–१९ को संकास्पद र सङ्क्रमित व्यक्तिलाई यात्रामा प्रतिबन्ध लगाउनुका साथै वृद्ध, दीर्घरोगी, गर्भवती महिलालाई सकेसम्म जहाजमार्फत यात्रा नगर्न अनुरोध गरेको छ ।

यतीले पहिलो पंक्तिमा कार्यरत शतप्रतिशत कर्मचारीहरूलाई पहिलो चरणको खोप लगाउने काम सम्पन्न गरी दोश्रो चरणको खोप लगाउने व्यवस्था मिलाई सकेको जनाएको छ । उडान पहिले वायुयानको क्याविन, र्याम्प बस, लगेज तथा सामान निसङ्क्रमण गर्ने र यात्रुलाई सिट नम्बरको आधारमा विमानभित्र चढाउने तथा ओराल्ने व्यवस्था मिलाइएको छ ।

यतीले यात्राका क्रममा भौतिकदूरी कायम गर्न, यात्रुलाई क्याबिनमा हातेझोलाबाहेक अन्य झोला नलैजान, विमानमा घरपालुवा जनावर ओसारपसार नगर्न र विमानभित्र सिटमा बसिसकेपछि अनावश्यक रुपमा हिँडडुल नगर्न आग्रह गरेको छ ।