Tuesday 11-23, 2021, 9:40 am
Bittabazar

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने

२०७८ बैशाख ५

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बैशाख महिनाभित्रै विद्युत उत्पादन शुरु गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तिब्र पारिएको जानकारी दिए ।

संसदको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै घिमिरेले बाँकी जेठ, असार, साउन र भदौ महिनामा क्रमश थप ७६ मेगावाट थप्दै भदौ सम्ममा कुल ४ सय ५६ मेगावाट विद्युत सिस्टममा उत्पादन थप्दै लगिने बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले समय तालिकाअनुसार जेठ २ गते माथिल्लो तामाकोशीबाट विद्युत उत्पादन शुरु गर्ने रहेपनि बैशाखको ३१ गतै नै पहिलो युनिटबाट उत्पादन शुरु गर्ने गरी काम भइराखेको बताए । बैशाख २० गते पहिलो युनिट घुमाउने तालिका रहेको भएपनि एक दुई दिन अगाडि नै घुमाउन सक्ने सम्भावना भएको र त्यसको १४ दिन पछि विद्युत उत्पादन शुरु हुँदा बैशाख ३१ गते सम्भव हुने बताए ।