Tuesday 11-30, 2021, 5:06 pm
Bittabazar

निर्मला प्रकरणमा राजनीतिको रंग नदलियोस्, हिजो गोली लागेका युवालाई पनि हेर्नुस्

२०७५ आश्विन ८

जब म १३ वर्षकी थिएँ। महेन्द्रनगरको ऐठपुर चोकबाट हाम्रो घरतिर जाँदा बाँसको ठूलो झ्याङ थियो। बाँसको झ्याङनिर यस्तो अध्यारो हुन्थ्यो कि हिँड्न दिउँसै डर लाग्थ्यो। अहिले बाँसको झ्याङ मासियो। तर त्यतिखेर स्कुल जाँदा साथीहरुको समूह बनाएर आउने जाने गर्थ्यौं।

कहिलेकाही साथीहरु मिलेर ‘भूत आयो’ भन्दै त्यहाँ निरबाट डराउँदै भाग्थ्यौं। मलाई पनि त्यो बाँस घारीको बाटो हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। एक दिन मेरो बहिनी त्यहीँ तर्सिइन्। त्यो त्रास निको हुन समय लाग्यो। उखुबारी होस् वा सुनसान सडक, एक्लै कहिले जादैनथ्यौं। अलि सुनसान बाटो भए कतै नहेरी चप्पल हातमा समातेर कुद्ने बानी थियो हाम्रो। साइकल आफूसँग छ भने अगाडि नै त्यहाँनिर कुदाउँछु भनेर सोच्थेँ। साँझ हिँड्ने त कल्पना समेत गर्दैनथ्यौं।
प्रसंग नम्बर २
गाउँमा मानसिक सन्तुलन सुस्त भएका र राम्रोसँग बोल्न नसक्ने शंकर नामका एकजना युवक (६ वर्ष अघि मृत्यु भयो) थिए। उनी आमासँगै एक्लै बस्थे। गाउँघरमा बुझ्न सक्ने सानो बच्चालाई तर्साउन पर्ने भएमा “शंकर्‍या लाटो आयो” भनेर डर देखाउँथे। रून लागेको बच्चा पनि चुप हुन्थे। मानौ एक किसिमको त्रास थियो। ठूलो भएपछि पनि म उनलाइ देख्ने बित्तिकै साइकल कुदाउँथेँ। साना साथीहरुले बाटोमा हिँड्दा कहिलेकाहीँ शंकरलाई जिस्क्याउँथे।

उ ‘हुँ हुँ …’ गरेर रिसाउँथ्यो तर कहिले पनि हातपात गरेन। उसलाइ जिस्काए भने ढुङ्गाले भने हिर्काउथ्यो। अनि ‘आमै’ भनेर रुन्थ्यो। शंकरको घर हुँदै र बाँसको झ्याङ हुँदै कहिले पनि एक्लै हिडेनौं। सधै शंकरसँग एक किसिमको दुरी थियो। अहिले पनि घर जाँदा मानसिक सन्तुलन गुमाएको एक जना अधवैशे छन्, महिला देख्ने बित्तिकै आफ्नो यौनांग समातेर चलाउने गर्छन्। उनीबारे एक महिनाअघि मात्रै घरजाँदा मम्मीले भन्नुभयो। मैले पनि उसलाई देखेँ। तर, उसले कहिल्यै झम्टेन।

यी घटनाबाट मैले मेरो किशोरी अवस्थालाई निर्मलाको किशोरी अवस्थासँग दाँजेकोमात्र हो। साउन १० गते निर्मलाको बलात्कार गरी मारेर उखु बारीमा फ्याँकिएको तस्विर भदौ ७ गतेसम्म पनि हेरिरहेकी छु। सुदूर पश्चिमको परिवेशमा हुर्केको र त्यहाँ जीवन भोगेकाले गाउँलेहरुको दृढता बढी व्यक्त गर्नसक्छु। मिल्नेका लागि अमृत र चिल्नेलाई बिष हुन् कञ्चनपुरका वासिन्दा।