एक डलरको भाउ ११३ रुपैयाँ २५ पैसा पुग्यो, ११५ रुपैयाँसम्म पुग्ने अनुमान, दसैंका सामान महँगिने



काठमाडौं। अमेरिकी डलरको भाउ एकैदिन ७८ पैसाले बढ्दा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ। नेपाल राष्ट्र बैंकले एक डलरको भाउ ११३ रुपैयाँ २५ पैसा तोकेको छ।

भारतीय मुद्रा निरन्तर कमजोर हुँदा नेपाली रुपैयाँ अत्याधिक सस्तिएको हो। भारतीय सञ्चार माध्यमहरुले भारु अझै कमजोर हुने जनाएका छन्। यसको अर्थ नेपाली रुपैयाँ अझै कमजोर हुन बाँकी छ।अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो। डलर बृदिमा अंकुश नलाग्ने हो भने नेपाली रुपैयाँ अझै कमजोर भएर ११५ रुपैयाँसम्मको स्तरमा पुग्ने देखिन्छ।

डलर बढ्दा के हुन्छ?
डलरको मूल्य वढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। नेपाल राष्ट्र बैंकको बैशाखसम्मको तथ्यांक अनुसार नेपालमा ६ खर्ब ६ खर्ब ८५ करोड रुपैयाँ भित्रिएको छ।

डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। बस्तु तथा सेवा विक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयसमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ। बैशाखसम्म नेपालले निर्यात ब्यापार ६६ खर्ब ६५ करोड रुपैयाँ पुगेको छ।

नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। बैशाखसम्म ९ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको आयात भएको छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य बृद्धिमा यसको चाप देखिने छ। बैशाखसम्म मूल्य बृद्धि दर ४.१ प्रतिशत छ।

बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा वढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।

भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित बस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।

डलर वढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत वढी पैसा तिर्नु पर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताजा समाचार
लोकप्रिय