Monday 12-06, 2021, 10:45 pm
Bittabazar

जन्मदिन, दुबईको भानुजयन्ती र सुनाउन नपाएको मेरो गजल

२०७५ श्रावण २१

यूएई । संयोग नै भन्नुपर्छ हरेक वर्षको भानुजयन्तीकै दिन मेरो जन्म दिन पर्ने गरेको छ ३१ वर्षदेखि । भानुभक्त अलिक पहिला जन्मिए हामीलाई थुप्रै साहित्यिक उपहार दिए, नेपाली साहित्यलाई महत्वपूर्ण योगदान दिए । महाभारतको रामायण सिङ्गै उपहार दिएर हामीलाई इतिहासप्रति जानकार बनाए । म अलिक ढिला जन्मिएछु, देशलाई अलिअलि रेमिट्यान्स र परिवारलाई मुश्किलले चारो बाहेक केही दिन सकेको छैन । त्यसैले भानुभक्तलाई सारा नेपालीले सम्झिन्छन् । देशमाभन्दा विदेशमा रहेका नेपाली साहित्यप्रेमी नेपालीले हरेक वर्ष भानु जयन्ती भव्य तरिकाले मनाउँछन् । एक दशकभन्दा लामो प्रवासी अनुभवले भन्छ, नेपाली साहित्य र यसको सँरक्षण प्रति देशमा भन्दा प्रवासमा बढी चिन्ता गरिन्छ । यसपालि खाडीमा रहेका नेपालीलाई अर्को संयोग के जुरेको थियो भने भानु जयन्ती शुक्रबार परेको थियो अर्थात धेरै नेपालीको छुट्टी हुने दिन त्यही भएर यसपाली प्रवासी नेपालीले भानुलाई त्यही दिन सम्झिन पाए, जुन दिन उनको जयन्ती हो । अब मलाई त कसले सम्झिन्छ र तलव आएको दिन महिनामा एकदिन परिवारले सम्झिन्छन्, पैसा पठाउन आग्रह गर्छन् र बाँकी २९ दिन त्यही परिवारको यादमा तड्पिएर बस्नुपर्छ । परिवारको तड्पाईमा बस्नुपर्ने समस्या त म मात्र नभएर सारा प्रवासीको साझा समस्या हो । यहाँ मैले मेरो एक्लो एकदिने समस्यालाई यो पंक्तिमार्फत दर्शाउन चाहेको छु ।

जन्मदिन र भानुभक्त आचार्यको जयन्ती एकैदिन भएकाले रातिको १२ घण्टे ड्यूटी भए पनि एक दिनको निन्द्रा माया मार्दै नेपाली समुदाय युएई र ताप्लेजुङ्ग सेवा समाज युएईले आयोजना गरेको भानुजयन्ती विशेष खुल्ला रचना बाचन कार्यक्रममा सहभागी हुने निर्णय गरेँ । निर्णय गर्नासाथ आयोजकलाई कार्यक्रमको समयबारे प्रश्न गरेँ, सार्वजनिक गरिएको पोस्टरका कार्यक्रमको समय २ बजे राखिएको भए पनि आयोजकले म्यासेजमा कार्यक्रम अढाई बजे सुरु हुने जानकारी गराए । सहभागी हुने भए नाम दर्ता गराउन र रचनाको विद्या पनि खुलाउन आग्रह गरियो । मैलो गजल सुनाउन चाहेको जानकारीका साथ अपरिचित र अभागी नाम दर्खास्त चढाएँ म्यासेज मार्फत । लामो समय म्यासेज हेरिएको थिएन । साँझमा पोस्टरमा भएको नम्बरमा आयोजक मित्रलाई फोन गरेँ र आफू कार्यक्रममा आउन चाहेको र म्यासेजमा जानकारी गराएको साथै राति ड्यूटीमा जानुपर्ने हँुदा चाँडै रचना बाचनको समय मिलाउन सकिन्छ कि भनेर प्रश्न गरेँ । उत्तरमा “हुन्छ” आयो साथै वाचन गर्न चाहेको रचना म्यासेञ्जरमा पठाउन भनियो । रचना पठाउन ईन्टरनेट क्याफेमा जाँदा नाम दर्ता भइसकेको र रचना पठाएपछि समयको टुङ्गो लगाउन भनिएको रहेछ । खुसी हँुदै रचना पठाएँ । मुख्य उद्देश्य कार्यक्रम भएता पनि केही चाँडो गए केही संचारकर्मी साथी र मामा प्रेमप्रसाद सिग्देललाई भेटेर भलाकुसारी गर्ने ईच्छा जाग्यो ।