Tuesday 11-30, 2021, 6:53 am
Bittabazar

यू आर ओभरक्वालिफाईड !

२०७५ श्रावण २१

भर्खरै सरकारले सम्पूर्ण बेरोजगारहरुलार्ई चारमहिने रोजगारी दिने र त्यो पनि नसक्नेलाई साठी दिने बेरोजगार भत्ता दिने निर्णय सार्वजनिक गरेको छ । सरकारले यो निर्णय सुनाइरहँदा समेत मिनेटैपिच्छे कयौं युवाहरुको रोजगारीको सपनामाथि तुषारापात भइरहेको तीतो यथार्थ हाम्रोसामु छ । हाम्रो जस्तो विकासोन्मूख देशमा मात्र नभएर विकसित मुलुकहरुमा समेत एउटा बालक जन्मिएदेखि नै उसैमा सँगालित सपना बुन्ने परिपाटी छ । फरक यत्ति हो कि पश्चिमा राष्ट्रका अभिभावक आफ्ना सपना आफ्ना सन्तति माथि लाद्दैनन् , तर हामी भने यहाँ सन्तानको जन्मदेखि नै उसको लिङ्गको आधारमा कथित स्वर्गको साँचो समेत सुम्पिन पछि पर्दैनौ । यसरी बाँडिएका सपनाका डोरीले सन्तानको भविष्य उज्वल बनाउनुको साटो झनै बिथोलिरहेको त छैन ?
अझै सम्झन्छु, म सानो छँदादेखि नै सबै भन्दा धेरै सुनेको कुरा ‘नानी ठूलो भएर के बन्ने ? धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ, बाबा ममी पाल्नुपर्छ । आदि इत्यादि।’ यही सुन्दासुन्दै र गम्दागम्दै बाल्यकाल र स्कूले जीवन व्यथित गरेको पत्तो समेत पाउँदैनन् कतिले । जब कलेज भर्ना भयो त्यो जोश र जाँगरलाई खाली खराब संगतको हुरी र माया पिरतीको डोरीले बाहेक अरु केहीले पनि रोक्न र छेक्न नसक्ने रहेछ । सधैं आफ्ना र परिवारका सपनाको करोंडौं जप लगाउँदै पढेकी मैले जीवनमा, यति पढेर, थेउरीको पाटो मात्र नभएर व्यवहारिकतामा पनि अब्बल भएरै पनि एक बेरोजगार भई बाँच्नु पर्ला भनेर चिताएकै थिइन् । सोच्छु के मानविकी संकाय लिएकै कारण मसँग आज एक शिक्षक हुनुभन्दा बाहेक अरु विकल्प नभएको हो त ? की बजारले खोजे जस्तो शैक्षिक पृष्ठभूमि भएता पनि अरु जति प्रतिस्पर्धात्मक हुन नसक्नु मेरै कमजोरी हो ?