Monday 11-29, 2021, 8:52 pm
Bittabazar

वैदेशिक व्यापार घाटा २७.५३ प्रतिशत, १२ खर्ब ४३ अर्ब २९ करोड आयात, ८१ अर्ब १९ करोड निर्यात

२०७५ श्रावण २१

काठमाडौं, साउन २१ । गत आर्थिक वर्ष २०७४÷७५ मा १२ खर्ब ४३ अर्ब २९ करोड रुपैयाँको वस्तु तथा सेवाको आयात र ८१ अर्ब १९ करोड मूल्य बराबरको नेपाली वस्तु निर्यात भएको छ । आयात र निर्यात गर्दा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब २४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।निर्यातको तुलनामा अत्यधिक वस्तुको आयातले व्यापार घाटा २७ दशमलव ५३ प्रतिशतले बढेको छ । गत आवको व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड पुगेकोे भन्सार विभागका महानिर्देशक तोयम रायाले बताए । कुल वैदेशिक व्यापारमा आयातको ९३.९ प्रतिशत र ६.१ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७३÷७४ मा १० खर्ब ५७ अर्ब ३३ करोड वैदेशिक व्यापार भएको थियो । अघिल्लो आवमा भएको ब्यापारमध्ये नौ खर्ब ८४ अर्ब ३० करोड आयात हो भने ७३ अर्ब तीन करोड निर्यात हो । गएको आवमा नौ खर्ब ११ अर्ब २६ करोडको ब्यापार घाटा भएको थियो ।

नेपालबाट विश्व बजारमा भएको व्यापारमध्ये ५७.४ प्रतिशत छिमेकी मुलुक भारतमा भएको छ भने अमेरिकामा ११.३ प्रतिशत, जर्मनमा नौ प्रतिशत, टर्कीमा ५.८ प्रतिशत र अन्य देशमा २१.७ प्रतिशत निर्यात भएको हो । नेपालबाट चार हजार ३४ देशमा नेपाली वस्तु निर्यात भएको छ ।

विश्व बजारबाट भएको आयातमध्ये ६५.२ प्रतिशत र ५७.४ प्रतिशत निर्यात भारतसँग भएको तथ्यांक विभागको रहेको छ । अर्को छिमेकी मुलुक चीनबाट १२.९ प्रतिशत वस्तु आयात भएको छ । कुल आयातमा १९.१ प्रतिशत अन्य देशको छ । भारत र चीनबाहेक विश्वका एक सय ४० देशका चार हजार सात सय २५ प्रकारका सामग्री नेपाली बजारमा भित्रिएका छन् । नेपालबाट अमेरिकामा ११.३ प्रतिशत, जर्मनमा नौ प्रतिशत, टर्कीमा ५.८ प्रतिशत र अन्य देशमा २१.७ प्रतिशत निर्यात भएको हो ।

गत आव आयात भएका वस्तुमध्ये पाँच वस्तुको समूहले करिब आधा (४९.२८ प्रतिशत) हिस्सा ओगटेको छ । गएको आवमा पेट्रोलियम पदार्थ, आइरन एन्ड स्टिल, मेसिनरी सामान, सवारीसाधन र विद्युतीय सामान तथा उपकरण बढी भित्रिने वस्तुको उत्कृष्ट पाँच सूचीमा परेका छन् ।

नेपालबाट नौ अर्ब २० करोडको कफी, आठ अर्ब ४३ करोडको कच्चा धागो, सात अर्ब ३८ करोडको कार्पेट, ६ अर्ब २८ करोडको तयारी पोशाक र ५ अर्ब १६ करोडको आइरन एण्ड स्टील वाह्य देशमा निर्यात भएको छ ।

गत आवमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । एक वर्षमा एक खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ। एक खर्ब २५ अर्ब ८८ करोडको आइरन एन्ड स्टिल आयात भएको भन्सार विभागको तथ्यांक छ । गएको आवमा एक खर्ब २४ अर्ब ४४ करोडको मेसिनरी सामान, ८५ अर्ब ३० करोडको सवारीसाधन र ७८ अर्ब २८ करोडको विद्युतीय सामान तथा उपकरण आयात भएको छ ।

कुल आयातः १२ खर्ब ४३ अर्ब २९ करोड
पेट्रोलियम पदार्थ ः १ खर्ब ९७ अर्ब ८५ करोड
आइरन एण्ड स्टीलः १ खर्ब २५ अर्ब ८८ करोड
मेशिनरी सामानः १ खर्ब २४ अर्ब ४४ करोड
सवारी साधनः ८६ अर्ब ३० करोड
विद्युतीय सामानः ७८ अर्ब २८ करोड
कुल निर्यातः ८१ अर्ब १९ करोड
कफीः ९ अर्ब २० करोड
कच्चा धागोः ८ अर्ब ४३ करोड
कार्पेटः ७ अर्ब ३८ करोड
तयारी पोशाकः ६ अर्ब २८ करोड
आइरन एण्ड स्टीलः ५ अर्ब १६ करोड
स्रोतः भन्सार विभाग